मानव सभ्यताको विकासक्रममा स्थान विशेष अनुसार अनुकुलन हुँदै जाँदा विभिन्न सँस्कृति, समुदाय र जातिको उत्पत्ति हुन गयो । सँस्कृतिले मानव जातिलाई पहिचान दिन्छ । साँकृतिक आधारमा अलग स्थानमा बस्नेहरुले अलग जाति, अलग समुदाय, अलग बासिन्दाका रुपमा आफूलाई चिनाए । उनीहरुको चिन्तन शैली, भाषा, भेषभूषा फरक फरक निर्माण भयो र आजको यो विविधतापूर्ण समाज बन्न पुग्यो । अहिलेसम्मको समाज विकास इतिहास र सामान्य नियम यही नै हो ।

३० हजार वर्ष पुरानो यो आधुनिक मानव सभ्यतामा धेरै जातिको उत्पति र लोप संसारमा भएका छन् । उद्विकासवादको नियमलाई मान्ने हो भने आफूलाई समयानुकुल परिवर्तन, अनुकुलन र प्रतिरोध गरेर श्रेष्ठ सावित गर्न सक्नेहरु नै आजसम्म टिकिरहेका छन् । नसक्नेहरु हराएका वा छायाँमा छन् । अनेकौं हण्डर, ठक्कर, दमन, शोषण र सेपलाई छिचोल्न सक्नेहरु अहिले अस्तित्वमा छन् । मानिसको अस्तित्वलाई जीवित राख्ने कुरामा सबैभन्दा ठूलो देन सँस्कृतिकै हुन्छ । सँस्कृतिले मानिसलाई अन्य प्राणीभन्दा अब्बल बनायो साथै मानिसहरुकै बीचमा अस्तित्व बचाउने काम गरेको हुन्छ ।

यस्तै समृद्ध सँस्कृतिले आजसम्म मानव सभ्यतामा आफ्नो अलग पहिचान राख्न सक्षम बनाएको समुदाय जाति कुलुङ हो । किरात महा वंशभित्रका धेरै जातिहरुमध्ये कुलुङहरु प्रकृतिपूजक हुन् । उनीहरुको सँस्कृति, चाडबाड, देवीदवता प्रकृतिसँग सम्बन्धित छन् । प्रकृति पूजक कुलुङ जातिको साँस्कृतिक चाड मिनारी दाचाम चाक्चाकुरको बारेमा केही प्रष्ट पार्न यो आलेख तयार गरिएकोछ ।

मिनारी दाचाम निङदोङ चाक्चाकुर

कुलुङ चाड मिनारी दाचाम् निङदोङ चाक्चाकुर को बारेमा थोरै चर्चा गरौं । कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले हुन्छ । दाचाम्को अर्थ भण्डार वा ढुकुटी हो भने निङदोङले नयाँ वर्ष र चाक्चाकुरले चासुम् (अन्नको सह) तथा पुस महिनालाई जनाउँछ । मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँवर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो । यसलाई प्राय चाक्चाकुर मात्रै भनेर चिन्ने गरिन्छ ।

कुलुङ मिथक अनुसार बाबु खार र आमा दुम्दुलिमलाई सोक्पाले खाएपछि छोरा खोक्चिलिप, छोरीहरु लोस, खेवा र चिनवा टुहुरा–टुहुरी भए । आमाबाबु विहिन भएपछि जीवन गुर्जान गाह्रो भयो । खोक्चिलिप सबैभन्दा कान्छो र केही सोझो खालको भएकोले उसलाई पाल्न गाह्रो भयो । खोक्चिलिपलाई कसैगर्दा भने जस्तो बनाउन नसकेपछि एकदिन सबै दिदीबहिनी उसलाई सदाका लागि छाडेर जाने निर्णयमा पुगे । चेली माइती विछोडिए । बाँच्नु रहेछ, खोक्चिलिप दिदीहरुले छाडेर गएपनि बाँचे । समय आएपछि खोक्चिलिप जसोतसो तन्नेरी भए । उनको वेइलिमसँग विवाह भयो । विहेपछि श्रीमती वेइलिमको सल्लाह अनुसार खोक्चिलिपले खेतीपाती र बसोबासको सुरुवात गरे ।

वेइलिमसँगको घरबार खोक्चिलिपलाई फाप्यो । खानलाउन पुग्ने भयो । बेलाबेला खोक्चिलिपले छाडेर जाने आफ्ना निष्ठुरी दिदीहरुका बारेमा श्रीमती वेइलिमलाई सुनाउँथे । त्यही क्रममा एकदिन वेइलिमले आफ्ना श्रीमानलाई चेलीहरु खोजेर ल्याउन अनुरोध गरिन् । खोक्चिलिपले भाइ मरोस याँ बाँचोस भनेर सादाका लागि छाडेर गएका दिदीहरुलाई उनीहरुको देशबाट खोजेर ल्याए । म¥यो होला भनेर माया मारिसकेको भाइ जीवित भएको र उसले धेरै प्रगति गरेको थाहा पाएर सुरुमा त दिदीहरु पश्चातापले जले, सँगै खुसीले रमाए । त्यो खुशीमा उनीहरुले नाचगान गरे । आपसमा खुसी साटासाट गरे । भाइबुहारीलाई आर्शिवाद दिए । यसरी विछोडिएका आदिम कुलुङ पूर्खा खोक्चिलिप र उनका चेलीहरुको पुनरमिलनदेखि चाक्चाकुरको सुरुवात भएको मानिन्छ ।

नेपाल एकीकरणपछि हिन्दू चाडपर्व मनाउने राज्यको अनिवार्य उर्दिले मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाउने चलन लोप हुने अवस्थामा पुगेको थियो । गोरु काट्न प्रतिबन्ध लागेसँगै कुलुङ बस्तीमा चाक्चाकुरको रौनक घट्न गयो । कुलुङहरु चाडका अवसरमा गोरुको मासु पितृहरुलाई चढाउँथे । गोरु कट्न प्रतिबन्ध र अनिवार्य दशैं मनाउने सरकारी उर्दिपछि चाक्चाकुर करिब करिब किम्बदन्ती बनेको थियो ।

अर्को कथानुसार किरात कुलुङ जातिका पूर्खाहरु शिकारी थिए । शिकारी युगबाट उनीहरु कृषिमा प्रवेश गरेपछि बर्षभरि खेतबारीमा रोपेको अन्न भण्डारण सकाएर रमाइलो गर्ने क्रममा मिनारी दाचाम चाक्चाकुर सुरु भएको हो । कुलुङ पूर्खाहरुले पाखुरीको बलमा उब्जाएको अन्न पुसको मध्यान्तअघि ढुकुटीमा भण्डारण गरिसक्थे । पुस १५ अर्थात चाक्चाकुरको मध्यमा ढुकुटीमा राखिएको केही अन्न पहिलो पटक झिकेर कुलदेवतालाई चढाउँथे । प्रकृति पूजक उनीहरुले आफ्नो पितृ पारुहोङ र फलाउने प्रकृतिलाई चढाएपछि रमाइलो गरेर आफ्नो शिर उठाउँथे । शिकार खेलेर मारेको मासुसँग घरमा बनाएको जाँड–भात खाँदै रमाइलो गर्थे । आउने साल अन्नपानीको सह राम्रो होस्, सबैको आयु बढोस्, रोग नलागोस भन्दै शुभकामना आदान–प्रदान गरेर नाचगान तथा रमाइलो गर्दथे ।

पूर्खाले सभ्यताको सुरुवातसँगै सृजना गरेको चाक्चाकुरलाई अहिले कुलुङहरु आपसमा खुसी र शुभकामना साटासाट गर्दै मनाउने गर्दछन् । यो चाड मान्छेले आफुलाई पाल्ने प्रकृति तथा सभ्यता सिकाउने पूर्खाहरुप्रति दर्शाइएको श्रद्धा र सम्मानको प्रतीक हो । किरातहरु प्रकृति र पूर्खालाई भगवान मान्दछन् । प्रकृति र पूर्खा विहिन अस्तित्वको कल्पाना गर्न सक्दैनन् ।

किन पुस मध्यमा चाक्चाकुर

वर्षभर लगाइएको खेतीपाती पुस (कुलुङ महिना चाक्चाकुर) लाग्दा उठाइ सकिएको हुन्छ, किसान फुर्सदिला हुन्छन । कुलुङ मान्यता अनुसार चाक्चाकुरको मध्यबाट (पछि पुस १५ मानिएको) सूर्य दक्षिणीबाट उत्तरी अक्षांशतिर सर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ । चिसो घटेर पृथ्वीमा तापक्रम बढ्न थाल्छ । तापक्रम बढ्न थालेपछि अघिल्लो वर्ष सकिएको र नयाँवर्ष सुरु भएको कुलुङहरु मान्दछन् । त्यसैले पुस मध्य अर्थात १५ कुलुङहरुको नयाँवर्षको दिन हो । यसै दिनदेखि कुलुङ समाजमा अर्को वर्ष के के गर्ने ? के कस्तो खेतीपाती लगाउने ? भनेर योजना बनाउन सुरु गरिन्छ ।

कुलुङ समुदायमा पुस १५ बाट नाम्आइवा (सूर्य उत्तरतिर आउनेु) हुने भएकोले माघ महिना नलागुन्जेल कुखुरा, हाँस, परेवा तथा पंक्षीजन्य वस्तुहरुलाई बच्चा कोरल्न लगाइन्न । यदि त्यो समयमा बच्चा कोरले सौर्य प्रभावले नबाँच्ने विश्वास गरिन्छ । अन्य वस्तुमासमेत नाम्आइवा हुने, कुलुङ समुदायको मान्यता छ ।

चाक्चाकुर मनाउने तरिका

नेपाल एकीकरणपछि हिन्दू चाडपर्व मनाउने राज्यको अनिवार्य उर्दिले मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाउने चलन लोप हुने अवस्थामा पुगेको थियो । गोरु काट्न प्रतिबन्ध लागेसँगै कुलुङ बस्तीमा चाक्चाकुरको रौनक घट्न गयो । कुलुङहरु चाडका अवसरमा गोरुको मासु पितृहरुलाई चढाउँथे । गोरु कट्न प्रतिबन्ध र अनिवार्य दशैं मनाउने सरकारी उर्दिपछि चाक्चाकुर करिब करिब किम्बदन्ती बनेको थियो ।

कुलुङ जातिमा आएको सचेतनासँग चाक्चाकुरको उत्खनन् सुरु भयो । खास गरी २०४६ सालको राजनीतिक परिवर्तनपछि यसको खोजी भयो । कुलुङ पूर्खाहरुको अगुवाइमा चाक्चाकुर मनाउने चलन गाउँघरमा केही बँचेको भएपनि युवा पुस्ता यसबाट बेखर जस्तै थिए । औपचारिक रुपमा देशभर चाक्चाकुर मनाउन नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ, केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट थालिएको हो ।

अहिले चाक्चाकुरलाई पुष १५ देखि १७ सम्म तीन दिन मनाउने गरिन्छ । पहिलो दिन अर्थात नयाँवर्षमा औपचारिक कार्यक्रमहरु गरेर शुभकामना आदान–प्रदान गर्ने, पिकनिक जाने, नयाँ योजनाहरु बनाउने, खेलकुद, साँस्कृतिक कार्यक्रम आदि गर्ने गरिन्छ । दोश्रो दिन चासुम् (अन्न तथा धनसम्पत्तीको सह)को नाममा पितृपूजा गर्ने, अन्नवालीको सह माग्ने, घरघरमा विभिन्न कुलुङ परिकार बनाएर खाने अनि रमाइलो गर्ने गरिन्छ । तेस्रो दिन आफन्तहरुको भेटघाट, टीकाटालो गर्ने, परिवार तथा आफन्तजनका ज्येष्ठ सदस्यबाट आर्शिवाद ग्रहन गर्ने गरिन्छ । त्यस्तै औपचारिक कार्यक्रमहरुको समापन गर्ने गरिन्छ । चाक्चाकुरको अवसर पारेर कुलुङ बस्तीहरुमा मेला लगाउने गरिन्छ ।

कुलुङ जातिको बसोबास भएका जिल्लाहरु सोलुखूम्बू, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, तेह्रथुम र काठमाण्डौं उपत्यकामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ । त्यस्तै भारतको सिक्किम, पश्चिम बंगाल, आसाम, नागाल्याण्ड, अरुणाञ्चल लगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ । चाक्चाकुरको अवसरमा प्रत्येक कुलुङ परिवारको घरमा मासु, भात, ढिँडो, वाचिप्पा, जाँड–रक्सि, तोङ्बा, फलफुल लगायतका परिकार परिवार र समुदायका सदस्यहरु बसेर सामुहिक रुपमा खाने चलन छ ।

नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक एवं बहुसाँस्कृतिक देश हो । यहाँका हरेक जाति÷समुदायसँग आफ्नो मौलिक चाडपर्व र प्रथा परम्पराहरु छन् । तिनीहरु सबैलाई समान महत्व र मान्यता दिनु लोकतान्त्रिक राज्यको कर्तव्य हो । कुलुङ जातिको महान पर्व मिनारी दाचाम् निङ्दोङ चाक्चाकुरलाई राज्यले एउटा छुट्टै चाडको रुपमा मान्यता दिनु आवश्यक छ ।

राजधन कुलुङको आधिकारीक ब्लग साईटबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!