सङ्खुवासभा । गत चैत र बैशाख महिनामा मकालु बरुण राष्ट्रिय निकुञ्जको सहयोगमा मध्यवर्ती क्षेत्र भित्रको आठ स्थानमा होमस्टेको स्थापना गरियो । होमस्टे सञ्चालनको क्रममा आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरु पनि सञ्चालकहरुलाई वितरण गरियो । तर उक्त होमस्टे स्थापना गरिएको दश महिना भन्दा बढी समय वित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रहरुमा पर्यटकहरुको सुविधाको लागि होमस्टेको स्थापना गरिएपनि यसबारे न्युनतम् ज्ञान समेत सञ्चालकहरुमा नभएपछि उनीहरु नै अलमलमा परेका छन् । केही स्थानका सञ्चालकहरु औपचारीक उद्घाटनको पर्खाईमा रहेका छन् भने केही होमस्टे सञ्चालन सम्बन्धी तालिमको पर्खाईमा छन् । यसरी मुख हेराहेरको अवस्थामा होमस्टेको भौतिक अवस्था समेत ब्यवस्थीत हुन सकेको छैन ।

होमस्टेको औपचारीक उद्घाटन हुने हो वा होईन भन्ने दुविधा रहेको ताम्कु होमस्टेका सञ्चालक नरभुपाल राईको भनाई छ । अब आफ्नै तरिकाले सञ्चालन गरेपनि कसरी, के गरेर सञ्चालन गर्ने भन्ने ज्ञान नभएको राईको भनाई छ । ‘होमस्टे यहाँका सञ्चालकहरुको लागि नयाँ हो, यसबारे तालिमको आवश्यक छ’, राईले भन्नुभयो । होमस्टे सञ्चालन र ब्यवस्थापनको तालिम पाए यसको राम्रो सम्भावना रहेको समेत राईले बताउनुभयो ।

होमस्टेको स्थापनासँगै प्रचारप्रसारमा समेत कमी हुँदा यसबारे कसैलाई जानकारी छैन । स्थापित होमस्टेको बारेमा कुनै प्रचार सामग्रीहरु समेत नबन्दा अहिलेसम्म कुनै होमस्टेमा पाहुना आएका छैनन् । होमस्टे स्थापना भएको लामो समयसम्म पनि पाहुना नभित्रिदा निकुञ्जबाट प्राप्त सामग्रीहरु दुरुपयोग समेत हुन थालेको छ । पाहुनाको लागि छुट्टाईएको घर तथा कोठाहरु अरु नै काममा प्रयोग भईरहेको छ । निकुञ्जले होमस्टे सञ्चालनको लागि ढोकामा खुट्टा पुछ्नेदेखि सिरक डसनासम्म उपलब्ध गराएको छ । यसरी दिईएको सामग्रीहरुको दुरुपयोग हुन थालेको हो ।

निकुञ्जको सहयोगमा स्थापना गरिएको होमस्टे स्थानीय समुदायलाई हस्तान्तरण गरिसकिएको मकालु बरुण राष्ट्रिय निकुञ्जले जनाएको छ । विभिन्न स्थानमा होमस्टेको सम्भाब्यतालाई अध्ययन गरि होमस्टेको स्थापना गरि सञ्चालकहरुलाई सम्पुर्ण जिम्मेवारी प्रदान गरिएको मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती ब्यवस्थापन शाखाका लाकपद कुलुङले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरुको सुविधा र स्थानीयमा स्वरोजगार सृजना गर्ने उद्देश्यले होमस्टे स्थापना गरिएको कुलुङले बताउनुभयो । यसरी स्थापना भएको होमस्टे सञ्चालक आफैले सम्पुर्ण ब्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । होमस्टे सञ्चालनको लागि तालिम भने आवश्यक रहेको स्वीकार्नुहुँदै आगमी दिनमा यसको सम्बोधन हुने उहाँको भनाई छ ।

राष्ट्रिय निकुञ्जको सहयोगमा सोलुखुम्बुको दुई स्थान सहित सङ्खुवासभाको ८ स्थानमा होमस्टेको स्थापना गरिएको हो । सोलुखुम्बुको बुङ र छेस्काम, सङ्खुवासभाको गोला, चेपुवा, पाथीभरा, सिम्मा, हेदाङ्ना, गोलेचौर, सेदुवा, टासीगाउँ र ताम्कुमा होमस्टेको स्थापना गरिएको छ । उक्त स्थानहरुमा पर्यटकिय सम्भाब्यताको आधारमा ४ देखि ९ घरमा होमस्टे राखिएको मकालु बरुण राष्ट्रिय निकुञ्जले जनाएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्जमा बार्षिक करिव २० हजार पर्यटकहरु भित्रिने गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!