सनिबार राती चैनपुरको मयुममा आगजनी गरिएको डोजर ।

सङ्खुवासभा । सनिबार राती चैनपुर नगरपालिकाको मयुममा सडक निर्माण गर्दै गरेको डोजरमा आगजनी भएको छ । सडक निर्माण गर्दै आएको को २ च ६००० नम्बरको डोजरमा राती करिब १२ बजे आगजनी भएको हो ।

एक हप्ता अघि पनि पाँचखपन नगरपालिकामा सडक निर्माणकै क्रममा रहेको डोजरमा आगनी भएको थियो । पाँचखपन नगरपालिकाको वडा नम्बर ५ मा बा २ क ३२९३ नम्बरको उक्त डोजर पनि राती १२ बजे नै आगजनी भएको थियो । यस अघि पनि मादि नगरपालिकामा सडक खन्ने क्रममा ल्याईएको डोजरमा आगजनी भएको थियो । मंसिर २५ गते नगरपालिकाको राम मन्दिरबाट ओखरबोटे जाने सडकको स्तरउन्नती गर्दै गरेको डोजर माथी राती १२ बजे नै आगजनी गरिएको थियो ।

यसरी श्रृङ्खलाबद्ध डोजरमा गरिएको आगजनीको जिम्मा न कसैले लिएको छ, न त प्रहरीले नै पक्राउ गरेको छ । यसरी एकपछि अर्को गरि आगजनी गर्नेहरु अहिलेसम्म अज्ञात नै रहेको छ । अहिलेसम्म आगजनी गर्नेको पहिचान नभएपनि प्रहरीले भने निरन्तर खोजी र अनुसन्धान गरिरहेको बताउने गरेको छ । प्रहरीले विप्लप समुहलाई आशंका गरेपनि उक्त समुहले पनि जिम्मा लिएको कुनै प्रमाण नपाएपछि घटना रहस्यमय बन्दै गएको छ । सवै घटनाको प्रकृति उस्तै भएकोले आगजनी गर्ने पक्ष भने एउटै हुनसक्ने धेरैले आँकलन गर्न थालेका छन् ।

लगातार डोजरमा भएको आगजनीको कारण जिल्लाका निर्माण ब्यावसायीहरु त्रसित भएका छन् । काम गर्दै गरेको ठाउँमै डोजर लगायतका उपकरणहरुमा क्षति पुराउने चिन्ता बढेको निर्माण ब्यावसायीहरुको भनाई छ । दिनभरी काम गरेर कार्यस्थलमा नै छोडेको डोजरमा आगजनी हुनुले काम गर्ने वातावरण नभएको निर्माण ब्यावसायी संघका सचिव सन्तोष राईले बताउनुभयो । यसरी एउटै मात्र डोजरमा आगजनी भए करोडौ रुपैयाँसम्मको क्षती ब्यहोर्नु पर्ने राईको भनाई छ । यहि क्रमले असुरक्षा बढ्दै गए विकट र दुर्गम क्षेत्रमा काम गर्न नसकिने निर्माण ब्यवसायीहरुको ठहर छ ।

राज्यको पुर्नसंरचना पश्चात तिब्र गतिमा विकास भईरहदा आउने यस्तो अवरोधलाई सहज रुपमा लिन नहुने स्थानीय तहका प्रतिनिधीहरुको भनाई छ । सुरक्षित वातावरणमा निर्माण ब्यवसायी र निकायलाई काम गर्न सम्पुर्ण राज्य पक्षले तयार गर्नु पर्ने जनप्रतिनिधीहरु बताउछन् । विकास निर्माणको विरोध जो कोहीले भएपनि गर्न नहुने र आफ्नो माग छलफल तथा वार्ताको माध्ययमबाट पुरा गर्नु पर्ने पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईको भनाई छ । कार्य क्षेत्रमा निर्माण ब्यवसायीहरुलाई सहज रुपमा काम गर्न दिनको लागि सवै सुरक्षा निकायहरुले सक्रिय रुपमा सुरक्षा दिनु पर्ने समेत नगर प्रमुख राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!