- बागमान कुलुङ

घटने सम्भावना

बैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०६५।६६ देखि २०७६।७७ को पहिलो ६ महिनासम्म ४२ लाख ५६ हजार ३४६ नेपालीले बैदेशिक रोजगारीको लागी श्रम स्वीकृति लिएका रहेछन् । त्यसमध्ये करिब ८५ प्रतिशत अथवा ३६ लाख २२ हजार १५० युवाहरु खाडीका ५ वटा देशहरु मलेशिया, कटार, साउदी अरेबिया, युएई र कुबेत गएका थिए । गएकाहरु कति त फर्केका पनि छन् यद्यपी अहिले पनि ति देशहरुमा करिब १५ लाख नेपाली युवाहरुले काम गरिरहेका कुरा सरकारी तथ्यांकले देखाउछ । नेपाल राष्ट्रबैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५।७६मा यी ५ वटा देशह्ररुबाट करिब ५ खर्ब २ अर्ब रुपैया रेमिटयान्स भित्रिएको थियो जुन कुल रेमिटयान्स रकम ८ खर्ब ७९ अर्ब रुपैयाको ५७.१ प्रतिशत हो ।

कोरोना महामारीको कारणले अन्र्तराष्ट्रिय बजारमा तेलको मुल्य तीन दशकयताकै न्युन बिन्दुमा झरेपछि अहिले नेपालीहरुको प्रमुख रोजगारीको गन्तव्य मानिएका यी देशहरु दोहोरो आर्थिक संकटमा पर्न थालेका छन् । वल्र्डडोमिटर भन्ने संस्थाका अनुशार साउदी अरेबिया अमेरिकापछि संसारकै दोस्रो बढी तेल उत्पादन गर्ने देश हो । यहाँ बार्षिक करिब १२.४ अर्ब ब्यारेल तेल उत्पादन हुन्छ । त्यस्तै युएईमा वार्षिक ३.७७ अर्ब, कुबेतमा २.९९ अर्ब, कतारमा १.९८ अर्ब र मलेशियामा ०.७६ अर्ब ब्यारेल तेल बार्षिक रुपमा उत्पादन हुन्छ । समग्रमा यी ५ वटा देशहरुमा बार्षिक २१.९२ अर्ब ब्यारेल तेल उत्पादन हुन्छ । कोरोना महामारीको कारण संसारभरी यातायात थप्प हुँदा २ महिनादेखियता अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य प्रति ब्यारेल १६.७७ अमेरिकी डलरले घटेको छ । यस हिसाबले बार्षिक रुपमा यी पाँचवटा देशलाई तेल ब्यापारबाट मात्र करिब ३ खर्ब ६८ अर्ब अमेरिकी डलर घाँटा हुने देखिन्छ ।

तेलको ब्यापारपछि यो महामारीले असर गर्ने अर्को क्षेत्र पर्यटन हो । यी ५ वटा देशहरुमध्ये मलेशिया संसारकै टप दर्जन गन्तब्यहरुमा गणना हुने देश हो । २०१७ को प्रतिवेदन अनुसार करिब २ करोड ६० लाख पर्यटकले वार्षिक रुपमा मलेशियाको भ्रमण गर्छन् । त्यसैगरी बार्षिक १ करोड ६१ लाखले साउदी अरेबिया, १ करोड ६७ लाखले युएई, ६६ लाखले कुवेत र २२.५ लाखले कतारको भ्रमण गर्छन् ।

यी पाँच वटा देशहरु मध्ये युएईको कुल जिडिपीमा तेल र पर्यटनको योगदान क्रमसः ३३.३ र ११.५ प्रतिशत गरी जम्मा ४४.८ प्रतिशत रहेको छ । त्यस्तै कुबेतको जिडिपीमा तेलको योगदान ४० र पर्यटनको योगदान ५.६ प्रतिशत गरी जम्मा ४५.६ प्रतिशत रहेको छ । कतारको ६० र ३.३ गरी जम्मा ६३.३ प्रतिशत, मलेशियाको २२ र १५.९ गरी जम्मा ३७.९ प्रतिशत र साउदी अरबको ५० र ५ गरी जम्मा ५५ प्रतिशत जिडिपीमा योगदान छ । बार्षिक जिडिपीमा प्रमुख भुमिका खेल्ने तेल र पर्यटनका दुवै क्षेत्रमा यसरी आर्थिक संकटको स्थिती धेरै समय रहीरहे खाडीका यी देशहरुमा भविष्यमा ठुलै आर्थिक संकट आउन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।

नेपालकोमा आउने संकट

खाडीमा यो संकट गहिरिए त्यसले त्यहाँ ७० प्रतिशतसम्म बेरोजगारी थपिने अनुमान गर्न थालिएको छ । यदी ७० प्रतिशत बेरोजगारी थपियो भने त्यसले १० लाख ५० हजार नेपालीलाई खाडी मुलुक छोडन बाध्य बनाउछ । त्यसले करिब बार्षिक ३ खर्ब ५१ अर्ब रुपैया रेमिटयान्स घटाईदिन्छ । त्यो भनेको कुल रेमिटयान्स ८ खर्ब ७९ अर्ब को ५७.१ प्रतिशत हो । नेपालको कुल जिडिपीमा रेमिटयान्सको हिस्सा करिब ३० प्रतिशत रहेको छ । जब रेमिटयान्स घटछ त्यसले बैंकमा तरलताको हाहाकार मच्चिन्छ । त्यो भनेको ऋणीलाई ऋण दिने पैसा नहुने अवस्था हो । यस्तो भएको खण्डमा बैंकले महंगो ब्याजदरमा बचत संकलन गर्नेछ । यसले फिक्स डिपोजिटमा बैंकको ब्याजदर बढछ । फिक्स डिपोजिटमा ब्याजदर १० प्रतिशतभन्दा माथी ११ वा १२ प्रतिशततिर जान थाल्यौ भने मानिसहरुले शेयर बेचेर बैंकमा ब्याजको लागी पैसा डिपोजिट गर्नेछन् । वा शेयर किन्न लागेकाहरुले शेयर किन्ने योजना छोडेर ब्याजमा डिपोजिट गर्नेछन् । यसो भयो भने शेयर किन्ने भन्दा बेच्ने बढी हुनेछ र शेयरबजार अझ घटने अनुमान गर्न सकिन्छ ।

बढने सम्भावना

तपाई मान्नुहोस् वा नमान्नुहोस् तर नेपालमा जब लगानीको वातावरण बन्छ तब शेयरबजार घटछ । जब लगानीको वातावरण बिग्रिन्छ तब शेयर बजार बढछ । यो विश्व शेयरबजारको ठिक उल्टो नियम हो जुन नेपालमा ब्यवहारमा लागु हुन्छ । यस्तो किन हुन्छ ?

नेपालको अर्थतन्त्र जतिकै खुल्ला भनिए पनि बन्द नै हो । यहाँका नागरिकले बिदेशमा लगानी गर्न पाउदैन । भारतीय शेयरबजारमा बिदेशीहरुले चाहेको बेला तत्कालै खाता खोलेर अनलाईनबाट बिदेशमै बसेर शेयर किन्न सक्छन् वा चाहेको बेला तत्कालै शेयर बेचेर पैसा बिदेश लान सक्छन् तर नेपालमा त्यो कानुनी रुपमै अनुमति छैन । शेयरबजारमा लगानी गर्ने बिदेशीले संस्थागत रुपमा मात्र प्रवेश पाउछ । यहाँ भारत वा सिंगापुरमा जस्तो शेयर बेचेर तत्कालै पैसा बिदेश लाने सुविधा पनि छैन । गैरआवासीय नेपालीहरुले समेत चाहेको बेला लगानी गर्न र चाहेको बेला शेयरबजारको रकम बाहिर लाने ब्यवस्था छैन । त्यसैले अहिलेसम्म नेपाली शेयरबजारमा न एकजना बिदेशीले प्रवेश गर्न सकेको छ न गैरआवासीय नेपालीहरुले नै प्रवेश पाएका छन् ।

यस्तो बन्द अर्थ ब्यवस्थाको पनि अझ बन्द शेयरबजारमा लगानी गर्ने छुट्टै पैसा बाहिरबाट आउदैन, देशभित्र पनि हुदैन । त्यसैले जब अरु क्षेत्रहरु हाइड्रोपावर, पर्यटन र आयातनिर्यात जस्ता क्षेत्रमा निराशा पैदा हुन्छ वा त्यस क्षेत्रमा मानिसहरुको लगानी गर्ने रुची घटछ तब त्यो लगानी शेयरबजारमा आउने हो । यसलाई अर्को शब्दमा मिलाएर भन्दा जब अन्य क्षेत्रमा लगानी आर्कषण हुन्छ तब बैंकमा ऋण लिनेहरुको भिड लाग्छ । जब बैंकमा ऋण लिनेको भिड लाग्छ तब ऋणको ब्याजदर बढछ । जब ऋणको ब्याजदर बढछ तब बैंकहरुमा निक्षेप तान्ने होडबाजी चल्छ । जब बैंकहरुमा निक्षेप तान्ने होडबाजी चल्छ तब निक्षेपको पनि ब्याजदर बढछ । जब निक्षेपको ब्याजदर बढछ तब मानिसहरु शेयर बेचेर बैंकमा पैसा राख्छन । जब मानिसहरु शेयर बेच्छन तब शेयर किन्नेभन्दा बेच्ने बढी हुन्छ र शेयरको मुल्य घटछ । त्यो भनेको बजार घटनु हो । त्यसको ठिक उल्टो जब शेयरबाहेक अन्य क्षेत्रमा लगानी गर्ने वातावरण छैन तब ऋणको माग घटछ । क्रमसः ऋणको ब्याजदर घटछ र त्यसले निक्षेपको पनि ब्याजदर घटछ । त्यसो भएपछि बचतको पैसा बैंकमा राख्नुभन्दा शेयर किन्नतिर लगानीकर्ताहरु लाग्छन र शेयरको मुल्य पनि बढछ ।

नेपाल धितोपत्र बोर्डमा हालसम्म ३३ वटा जलविद्युत कम्पनीका शेयर सुचिकरण गरिएका छन् । ति मध्ये २०६७ चैत्र ९ गतेको कारोबारलाई आधार मान्ने हो भने १९ वटा कम्पनीको शेयरको बजार मुल्य १०० रुपैयाभन्दा तल छन् । ती १९ मध्ये पनि ६ वटा कम्पनीको शेयरको बजार मुल्य ६० रुपैयाभन्दा कम्ती छन् भने ४ वटाको ६० रुपैयादेखि ८० रुपैयासम्म र बाँकी ९ वटाको मुल्य ८० रुपैयादेखि ९९ रुपैयासम्मका छन् । निश्चित पनि यो अवस्था हाइड्रोपावरमा थप लगानी गर्न हौशला मिल्ने अवस्था होइन ।

सरकारी तथ्यांक अनुसार बार्षिक १७ देखि २२ अर्ब रुपैयासम्म लगानी पर्यटन क्षेत्रमा हुदै आएको छ । कोरोना भाईरसको कारणले महामारी नियन्त्रण भएपछि पनि पर्यटकको आम्दानी घटने भएकोले पर्यटन क्षेत्र सुस्ताउने अनुमान गर्न सकिन्छ । त्यसैले तत्कालै थप पर्यटन क्षेत्रमा पनि लगानी थपिहालौ भन्ने हतारको अवस्था छैन । राष्ट्रबैंकको तथ्यांक अनुसार बार्षिक ३५ अर्ब रुपैयाको सुन, १२० अर्ब रुपैयाका सवारी साधन र २.२ अर्ब रुपैयाको मदिरा आयात हुन्छ जसमा सरकारले हालै लगाम लगाएको छ । पछिल्लो सरकारी निर्णय अनुसार सुनको आयातमा ५० प्रतिशत घटाएर कोta तोकिएको छ । त्यस्तै ५० हजार डलरभन्दा माथीका गाडी आयातमा रोक लगाईएको छ भने मदिरा आयातमा पुरै रोक लगाईएको छ । यसले आयातको ब्यापारमा पनि लगाम लागेको छ । यस्तो अवस्थामा अन्य सेक्टरमा हुन खोजिरहेको लगानी शेयरबजारमा मोडिन पनि सक्छ । यसो भयो भने बजार बढने पनि अनुमान गर्न सकिन्छ ।

अबको रणनीति

देश लकडाउनमा गएदेखि शेयर बजार पनि बन्द भएको छ । बजार खुलेपछि तत्काल निर्णय लिनुभन्दा पर्ख र हेरको रणनीति उचित हुन सक्छ । २०७३ सालदेखि निरन्तर घटेको बजारमा महामारीको यो अवस्था थपिएपछि बियरिष्टले बटम छोएको छ कि छैन भन्ने कुराको ग्यारेन्टी गर्न नसकिए पनि बजार शेयर किन्नुलायक क्षेत्रमा छ । महामारीको यो हुरिबतास चलेको बेला सके थप्ने नभए पनि टिक्ने रणनीति उचित हुनेछ तर हारेर भाग्नेहरु एक दिन पछुताउने छन् ।

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!