खाँदबारी । सिसुवाखोलाको बेसिन्दा गाउँ लगायतका विभिन्न स्थानमा पहिरो गएर जनधनको क्षति भएपछि विपद ब्यवस्थापनमा सिलिचोङ गाउँपालिकालाई निक्कै चुनौती थपिएको छ । ११ जना बेपत्ता हुनेन गरि बेसिन्दा गाउँमा पहिरो गएपछि त्यहाँका नागरिकहरु विस्थापित बनेका छन् ।

बेसिन्दा लगायत गाउँपालिकाको विभिन्न स्थानमा पहिरो गएपछि सयौं परिवारलाई स्थानान्तरण गर्नु पर्ने अवस्था सृजना भएको छ । बेसिन्दाका ८६ परिवार र चेप्चेवा गाउँका ८ परिवार पहिरोले विस्थापित बनाएको छ भने होयेङ्ला, गोगने लागयतका गाउँका नागरिकहरु पहिरोको उच्च जोखिममा छन् । उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने र खाद्यन्न लगायतका सामग्रीहरुको ब्यवस्थापन गर्नु पर्ने भएकोले गाउँपालिकालाई निक्कै आर्थिक भार पर्न गएको हो । कतिपयलाई क्षतिपुर्तीको समेत ब्यवस्था गर्नु पर्ने भएकोले विपद ब्यवस्थापनमा समस्या बढेको हो ।

यसै विच, सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले विपदको सामना गर्न सम्बन्धीत सवैलाई अनुरोध गर्नुभएको छ । हालसम्म सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुहुँदै अध्यक्ष कुलुङले राहत ब्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभएको हो । ईमकालु अनलाईनसँग कुरा गर्नुहुँदै अध्यक्ष कुलुङले विभिन्न ब्यक्ति र संस्थाहरुले गरेको आर्थिक तथा भौतिक सहयोगले विपदबाट उक्सिन ठुलो बल पुग्ने बताउनुभयो । सहयोगको लागि प्रदेश र संघलाई पनि अनुरोध गर्दै आएको स्पष्ट पार्नुभयो ।

पछिल्लो समय विभिन्न संघसंस्थाहरुले राहत संकलनको काम गरिरहेको खबरले आफुहरु हर्षित भएको बताउनुहुँदै अध्यक्ष कुलुङले राहत वितरण एकद्वार प्रणालीबाट गरिदिनको लागि समेत अनुरोध गर्नुभयो । राहत वितरणको क्रममा आफ्नो (गाउँपालिका अध्यक्ष) को अध्यक्षतामा विस्थापित ब्यवस्थापन तथा राहत वितरण समिति गठन गरिसकिएकोले उक्त समतिसँग समन्वय गरेर वितरण गरिदिन समेत अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया

Loading...