ताम्कु । बाढी र पहिरोले थिलथिलो बनाएको सिलिचोङ गाउँपालिकामा रहेको एक मात्र डाक्टरलाई सरुवा गरिएको छ । हाल कार्यरत सिलिचोङ गाउँपालिकाको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर रुपेश कर्णलाई चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा गरिएको हो ।

डाक्टर कर्णलाई स्वास्थ्य सेवा विभाग काठ्माण्डौले संखुवासभाकै चैनपुरमा सरुवा गरि पठाएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो । विभागको सिफारिसमा डाक्टर कर्णलाई चैनपुर पठाईएको बाह्रकोटीले जानकारी दिनुभयो ।

डाक्टर कर्ण ३ हप्ताका लागि विदामा घर जानुभएको थियो । उहाँ बिदामै बसेको बेला चैनपुर सारिएको हो । डाक्टर कर्ण र सिलिचोङ गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङ विचको कुराकानीमा जिल्लाका सांसदहरुले चैनपुर सरुवा गरेको डाक्टर कर्णले बताएको अध्यक्ष कुलुङले बताउनुभयो । ‘सांसदहरुले सरुवा गरि लगे, म त कर्मचारी हो जहाँ लान्छन् जाने हो डाक्टर कर्णले भने’, अध्यक्ष कुलुङले भन्नुभयो ।

यस्तो विपदको बेला जसले सरुवा गरि लगे पनि घाउमा नुन चुक छरे बराबर भएको अध्यक्ष कुलुङले गुनासो गर्नुभयो । एक ठाउँमा राखिएको पहिरो विस्थापितहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा दिनुको साटो भएको डाक्टर सरुवा गरि लैजानु अमानविय कृयाकलाप समेत भएको गाउँपालिका अध्यक्ष कुलुङको भनाई छ ।

कोरोनाको महामारी र पहिरोको सिकार बनेको बेला गाउँपालिकाका नागरिकहरुको स्वास्थ्यमा खेलवाड भएको भन्दै सरुवा भईजाने डाक्टरलाई रमाना पत्र नदिने गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले भन्नुभयो । त्यस्तै, डाक्टर कर्णले पाउनु पर्ने बाँकी तलव, सेवा सुविधा समेत रोक्का गर्ने अध्यक्ष कुलुङको भनाई छ । ‘हामीले सकेको सेवा र सुविधा दिएकै हो, अझै केहि अपेक्षा भए पुरा गर्ने पक्षमा थियौ तर धोका भयो’, अध्यक्ष कुलुङले भन्नुभयो । सरुवा गर्ने र भईजाने दुवैले कुनै समन्वय विना अप्ठ्यारोमा पारेको अध्यक्ष कुलुङको गुनासो छ ।

प्रदेश सरकारले पिएचसीलाई दोश्रो दर्जाको ठान्छन्

संखुवासभामा चार वटा प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) छन् । त्यस मध्ये ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र डाक्टर थिए । उक्त डाक्टरलाई पनि हालै चैनपुर नगरपालिका सरुवा गरिएको हो । अहिले ताम्कु नुम र वानामा डाक्टर छैन । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टरको दरबन्दी हुन्छ ।

तर संखुवासभाका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा लामो समयदेखि रिक्त हुँदा पनि प्रदेश सरकारले चिकित्सकको ब्यवस्था नगरेको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटीको भनाई छ । जिल्ला अस्पतालमा रहेको केहि डाक्टरहरुले आफै पिएचसीमा जाने ईच्छा ब्यक्त गर्दा पनि प्रदेश सरकारले चासो नदिएको बाह्रकोटीले बताउनुभयो । यसरी बर्षौदेखि चिकित्सक विहिन प्राथमिक स्वास्थ्य केन्द्र राख्नुले पिएचसीलाई प्रदेश सरकारले पनि दोश्रो दर्जाको ठानेको स्थानीयले आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...