- वीरबहादुर राई

श्रावण लागे पछि देवताहरु पनि हिमाल तिर लाग्छन् भनिन्छ । विशेषता श्रावण महिनामा भगवान शिवको पुजा गरीन्छ । शिव भगवनको वासस्थान कैलाश पर्वत र हिमालय पर्वतमा पर्दछ । त्यस्तै हिमालय पर्वतको थुप्रै तिर्थस्थलहरु मध्ये संखुवासभा जिल्लाको मकालु गाऊपालीका वार्ड नं १ को मकालु हिमाल नजिक नेहाँखर्कमा पनि शिवजीको वासस्थान शिवधारा पर्दछ । वरुण नदीको शिर दुधपोखरी हो । कमेरो माटोको घोल दुध जस्तै सेतो देखिने भएकाले दुधपोखरी भनिएको हो । मैले ०६६ सालमा शिवधारा र दुधपोखरी दुवैको दर्शन गरी सकेको थिए । वर्षमा एक पटक नयाँठाउ वा तिर्थस्थलको दर्शन गर्ने मेरो रहर छ । गत साल वैशाखमा मेरी आमाको स्वर्गवास भएकाले एक वर्ष कही नजाने सोचमा वसियो । यस पटक फेरी शिवधारा दुधपोखरीको दर्शनमा जाऊ भन्ने सल्लाह र सोच भएकाले दर्शनको लागी लागियो ।

श्रावण १० गते शुक्रवार

शिवको दर्शन गर्ने वार सोमवार भएकाले सल्लाह अनुरुप शुक्रवारको दिन यात्रा शुभराम्ब गर्ने भन्ने सल्लाह अनुरुप म घरबाट ६ः३० वजे निस्किए । अहिलेको फेसवुके चलन फेसवुकमा फोटो राख्नको लागी शिवधारामा चढाउन भनि झण्डै म भरीको त्रीशुल बोकेको थिए पहेलो ड्रेसमा फोटो खिचियो र तुरन्तै फेसवुकमा पनि राखियो अहिलेको फेसन कमेन्टहरु खरर आउन थालिहाल्यो । यति कै मा हाम्रा यात्री वाशु कोईराला सर र वहाँको मिसेस सुस्मा कोईराला मेरो घर अगाडी आई पुग्नु भयो । हामीलाई नुम सम्म लाने गाडी नेपालमान श्रेष्ठ सर र वहाँको मिसेस सरस्वती श्रेष्ठलाई लिनको लागी देवकोठा चोक झरेको थियो । साइतको निस्काई र हिडाई , जादै गरौ वाटैमा भेट हुन्छ होला हिड्ने वानी यहीबाट वसालौ भन्दै हामी तीन जना हाम्रो घर नयाँवजारबाट मानेभन्ज्याङ्गतिर वाटो ततायौ ।

खुव फुर्ति साथ हामी गफ गर्दै सोध्ने ईष्टमित्र साथीभाईलाई हात हल्लाउदै शिवधाराको दर्शनमा गएको भन्दै पछाडी हाम्रो गाडी आयो की भन्दै गाडीको आवाज सुन्नसाथ फर्किएर हेर्दै वाटोकाटेको थाहा नै नपाई मानेभन्ज्याङ्ग छेउको ईश्वर सरहरुको घरपरीको मनराम अटोसर्पमा पुगियो । फोनवाट ईश्वर सरहरुसंग त्यहाँ भेट हुने सल्लाह थियो । हामी पुग्न साथ हाम्रा यात्री ईश्वर घिमिरे सर , शिक्षाको गुरु जी प्रेममणी घिमिरे भाई र पदम दहाल सर आई पुग्नु भयो । हामी हाईहेल्लो के भन्दै थियौ हाम्रो गाडी नेपालमान सरको जोडीलाई लिएर आई पुग्यो । हाम्रो झोला लोड गरी हामी मानेभन्ज्याङ्ग तिर लागियो। मानेभन्ज्याङ्ग छेउमा हाम्रो अर्को एक जना साथी भानु पोख्रेल सर पर्खि रहनु भएको थियो । त्यहाँ पुगेर गाडीमा हाम्रो झोलाहरु पालले छोपेर टन्न कसेर गाडी भित्र हामी नौ जना तिर्थयात्री र गुरुजी गरी दश जना गफ गर्दै कहिले भरेको वासको कहिले के को त कहिले कसैको बारेमा गफ गर्दै हाम्रो यात्रा अगाडी बढ्यो । छ्याङ्कुटीमा फोटो खिच्ने र सेल्फि हान्ने कुरा मौसमको कारणले रोकियो ।

चिचिलापातलको गोगने एरीयाको बाटो केही हिलो रहेछ तर फोरह्वील गाडी भएकाले गुडुङ्डुङ गाडी अगाडी बढ्यो । चीचीलामा केही खुलेको र वासुसरको कार्य क्षेत्र चीचीला गाऊपालीका रहेकाले चिया खाएर जाऊ भन्ने कुरा रहयो । एक दुई पोज साथीहरुले फोटो खिच्नु भयो होला । चिया पिएर अगाडी वढियो । कुवापानी , सुम्बाभिर , सकराते , कप्ताने , ध्वोजे हुदै देउरालीमा पुगियो । नुममा खाना खानु पर्छ भनि पटकपटक फोनमा कोशिस गरीयो टावरले साथ दिएन । सुकेपातल हुदै हामी आफ्नै गफमा मुढे पुगियो तर मौसम नखुलेकोले रानीढुङ्गा हुदै १०ः३० वजेको छेउछाउ नुम पुगियो । एउटै होटलमा खाना भन्दा पकाउनु पर्ने समय लाग्ने भएकाले छरीएर होटलमा खाना खोजि खान लागियो । म मेरो भतिजेनी छोरीको जेठाजुको होटलमा पसे । छोरीको जेठानी चन्द्रकुमारी मेरो विद्यार्थी भएकाले साईनो लगाउन बोलाउन सजिलो छ । तिर्थ हिडेको अन्डामासु पर्दैन भने भोक निकै लागेको थियो मिठो गरी मजाले खाना खाए । साथीहरुले दायाँवायाँ कताकता खाना खानु भयो । हाम्रो हिडाईलाई सहज बनाउन खाई उकालो भन्दा पनि नुमको सेदुवा जाने ओरालो खाई ओरालो कठीन भएकाले गाडी चाम्लाखर्कसम्म लाने सल्लाह भयो । खाना खाएर हामी दुई चारजना गाडी तल ल्याउनु भनी नुमवजार हुदै हिड्दै गइयो ।

हामी शिक्षकलाई नयाँ ठाउमा आफ्नो विद्यार्थीले चिनेर बोलाए भने संसारको थुप्रै खुशी मध्ये त्यो खुशी सारै उत्तम लाग्छ ।

गाऊपालीकामा सदस्य रामबहादुर राईसंग भेट भयो । हामी तपाईहरुको गाउपालकिाको आन्तारीक पर्यटक खै त दाजु हामीलाई खादा भनि मैले ठट्टा गरे । गफगाफ गरेर हामी रोडमा निस्किएर हिड्दै थियौ गाडी आई पुग्यो । हामी गाडीमा चढियो । अरुणथड्को थुप्रै घुम्तिबाटो काट्दै कटुवाल डाडाहुदै क्याम बसेको ठाउबाट हामी फ्याक्सिन्दाको बाटो छोडेर पुखुवा आउने बाटो लागियो । हाम्रो गाडीको यात्रा चाम्लाखर्कमा गएर रोकियो । खाँदवारीबाट चाम्लाखर्क सम्मको एकमुष्ट रकम रु.७,०००।–सातहजार भाडा तिरियो । हामी आ–आफ्नो झोलितुम्बि बोकेर अरुण नदी तिर ओरालो झरीयो । चर्को घाम दुई वजेको समय अरुण नदी तरेर सेदुवाको निकै ठाडो उकालो बाटो लागियो । पानी पिउदै केही फरकमा अगाडी पछाडी भएर हामी थकाई मार्दै बाटोमा खुई गर्दै बाटो नाप्दै थियौ । वासु सर पछाडी रहनु भएछ, उकालोबाटो चर्को घामको पोलाई वासु सरलाई लेक होईन औउ लागेछ मतलव खरो भएर वेहोस जस्तै हुनु भएछ । संजोकले सबै जना भेट भएर पानी छम्किएर सहज बनाईयो । मैले वासु सरको र मेरो झोला लिएर साथीहरु विस्तारै आउनुहोस् भन्दै म अगाडी वढे । भानु सर र पदम सर साथीहरुले किन ढिलो गर्नु भयो भनि सविता वैनीको पसलमा झोला राखि आउदै हुनुहुदो रहेछ, वसु सरलाई थोरै समस्या भएकाले ढिलो भएको यो झोला बोक्नमा सहयोग गर्नुहोस् भनि मैले वासु सरको झोला बोक्न दिए ।

हामी थोरै समय सविता वैनीकोमा चिसो सर्वत पानी पीएर थकाई मारीयो । सविता वैनी ईश्वर सरहरुको चेली हुन् । सेदुवाको श्रेष्ठ राई भन्ने भाईसंग विवाह भएको छ र सेदुवाको वेदवारीमा पसल छ । हामी वाटो हिड्दा उनकोमा चिसो, चीया पिउने गर्दछौ । वेला मौकामा पुगिने भएकाले पैसा लिन मान्दैनन् । हामीले पनि त्यो गुनले गर्दा फर्किएर आउदा बाँकी गुन्द्रुक, मकै, भटमास र सातु खानु है नानी भनेर छोडि दियौ । केही समयको वसाई पछि हामी उकालो लाग्ने भईयो । मेरो साईनोले साडुभाई ज्ञानविक्रम राई भाईको बुबा पनि त्यहाँ हुनुहुदो रहेछ । मैले लौ बुबा एक जना मान्छे सेदुवा सम्म झोला बोक्ने खोजि दिन पर्यो भने । सन्जोकले गर्दा मुलगाउ घर भएको साथी फेला पर्यो । पाँचसय दिएर वासु सर र सुस्मा मिसको दुई जनाको झोला बोकाईयो । अरुणको पुलबाट सेदुवा वजारसम्म दोहरो डिड्ने गरी ढुङ्गा छापेर साचै राम्रो बाटो निर्माण गरीएको रहेछ । सेदुवाको उकालो वाटो लाग्दै गर्दा पानी पर्यो । वेदवारी र सेदुवाको बिचमा एकजना राई सरको घर छ । पानी परेको समयमा हामी त्यही घरमा केही समय थकाई मारीयो । पानी पर्न केही कम भए पछि हामी फेरी उकालो बाटो नाप्न थालियो । सेदुवाबाट केही साथीहरु जाने थियो ।

सेदुवामा नरबहादुर सुवेदी सरले हामीलाई पर्खि रहनु भएको थियो । हामी सेदुवामा ६ बजेको समयमा पुगियो । नरबहादुर सरले मेरो घर जौ भन्नु भयो । सरको घर च्याक्से डाडा मुनी सुवेदी गाऊमा हो । केही साथीहरु थकाईले गर्दा सेदुवामा बस्ने रहरमा हुनुहुन्थ्यो । भोलिको यात्राको ठाडो बाटो ईश्वर सर र मलाई थाहा भएकाले हामी, दुई पाईलो भए पनि अगाडी बढ्न चाहन्थ्यौ । त्यसैले हामी सरको घरसम्म जाने निधो गरियो । सरको घरमा पुग्न पाए झोला बोक्न सहयोग गर्ने साथीहरुको बन्दोबस्त मिलाईएको थियो र झोला मिलाउन सहज हुने थियो । सर्त बन्द अनुसार वासु सरहरुको झोला बोक्ने साथी सेदुवा सम्मको थियो । सहयोगी साथीलाई विदा गरीयो र गरौ झोला चाही नरबहादुर सरले सहयोग गर्नु भयो । ईश्वर सरले नरबहादुर सरको घर देख्नु भएकाले ढिलो हिड्नुहुने साथीहरुलाई विस्तारै लिएर आउनुहोस् भनेर हामी केही छिटो हिड्ने साथीहरु म, भानुसर, पदमसर र प्रेममणी सुवेदी भाई सरलाई पछ्याउदै बाटो लागियो । मजाले लम्किदा एक घण्टाको तेर्सोबाटो रहेछ । साझको सात वजे हामी अगाडी हिड्ने टिम सरको घरमा पुगियो । सरहरु थकाई मार्नुहोस् भनि सुवेदी सर अन्य केही गाउका भाईहरु साथमा लाईट लिएर साथीहरु लिन आउनु भयो । केही समय पछि सबै जना आई पुग्नु भयो । पहिलो दिनको वास सुवेदी सरको घरमा वडो मिठो भोजन पाहुन सत्कारका साथमा खाएर आरमका साथ राजा सुताईका साथ भनौ वा राष्ट्रपती सुताई भन्ने आरामले सुतियो ।

श्रावण ११ गते शनिवार

दोस्रो दिन हामी चारै वजे सवै जना उठियो । दोस्रो दिनबाट सुवेदी सर र वहाको मिसेस् , सुवेदी सरको दाजु , सुवेदी सरको भेनाजु दिपेन्द्र कार्की र वहाँको मिसेस् ( सुवेदी सरको दीदी खस्नु भएर कान्छी विवाह गर्नु भएको रहेछ) , दर्शन पनि गर्न जाने हाम्रो टीमलाई पनि सहयोग गर्ने पुजा आमा भन्ने शेर्पा वैनी र हामीलाई सहयोगको गर्नको लागी शेर्पा भाई गरी सात जनाको टीम थपीएर जम्मा हामी सोह्र जना हुने भएका थियौ । हामी उठ्न भन्दा अगाडी नै सुवेदी सरको मिसेस् र कार्की जीको मिसेस् दुई वैनीहरुले सेल रोटी पोल्न सुरु गर्नु भएछ । हामी उठेर विहानको दिशापिशाव देखि मुख धुने कर्म, कुम्लोकुटुरो कसी सक्दा चिया र सेलरोटी तयार भयो । चिया र सेलरोटी खाएर हामी वाटो लाग्न तयार भईयो । गाईवस्तु हिडाउनु पछि लाग्नु पर्छ भने, मान्छे हिडाउनु अगाडी लाग्नु पर्छ भन्दै म र प्रेममणी अगाडी लागियो । सुवेदी सरको घरबाट च्याक्से डाडा निस्कन पैतालीस मिनेटको ठाडो नाक ठोक्किने बाटो रहेछ । हामी सात बजे च्याक्से डाडा पुगियो ।

विहान खुलेकाले हामी जाने बाटो टसीगाऊ , डाडाखर्क , खोङ्वाडाडा , सानोपोखरी क्षेत्र देखाउदै फोटो खिचियो । आक्सुवा खोला पारी आक्चेवा , लुम्वाङ् देखाउदै फोटो लिईयो । सबै जना भेट भई सके पछि हामी टसी गाउ तिरको बाटो लागियो । च्याक्सेडाडाबाट टसीगाउ करीमकरीम तेर्सो उकालो बाटो छ । यस बाटामा बहुत जुका लाग्ने ठाउ हो तर बाटो राम्रो भएकाले खासै जुकाले दुख दिएन । निकै बेरको हिडाई पछि हामी टसीगाउको विद्यालयमा पुगियो । केही समयको थकाई मारेर हामी बाटो लाग्यौ । टसीगाउ र विद्यालय बिचमा एउटा सानो खोला छ । लेखको खोला पानी नपर्दा सानो, पानी पर्दा उर्लने हुन्छ । त्यहाँ पक्कि पुल निर्माण हुदै रहेछ । मलाई चिन्न हुने एक जना कामदारी साथीले बोलाउनु भयो । गफगाफमा हिजो सात जनाको टीम गएको छ भन्ने कुरा वहाँले गर्नु भयो ।

त्यो टिममा गुवावारीको प्रताप कार्की भाई , सेदुवाको मेरो विद्यार्थी वीरबहादुर राई भाई, सेदुवा कै मेरो विद्यार्थी भाई ललित राईको छोरा नाम विर्सिए, ताम्कुको एक जना राई भाई र चैनपुर हुलाकमा काम गर्नु हुने एक जना वैनी सहित तीन जना गरी सात जनाको टीम गएको रहेछ । हामी ९ः३० वजे टसी गाउ पुगियो । खाना बनाएर खाने तरखरमा लागियो । सहयोगी भाई र वैनीले मेरो र प्रेममणी भाईको कुनै सामन नबोकेकाले हाम्रो झोला गरौ थियो । त्यसैले चामल हाम्रो पकाउने सल्लाह भयो । टसीगाउको शेर्पाको होटल रहेको घरमा खाना तयार गरेर खाईयो । पकाएर चामल थोरै बाकी रहयो । भानु सरको झोला केही हलुङ्गो र वाटोमा फुर्ति साथ अगाडी हिड्नु भएकाले प्रेममणी र मैलै भानु सरले थाहा नपाई झोलामा चामल राखि दियौ । खाना पकाएर खाएको एकमुष्ट भाडा र दाउराको छ सय तिरीयो ।

खाना खाएर हामी एघारा वजे तिर बाटो लाग्यौ । अव बेलुकाको वाससम्मको बाटो उकालो मात्र हिड्ने थियो । हामी टसीगाउ परीको सानो खोल्सा तर्दै नाक ठोक्किने उकालो लागियो । उतिसे डाडामा थोरै वेरको थकाई मारेर हामी थोरै तेर्सो हिडेर सानो खोल्सि तरेर झिझरी ओडारमा पुगियो । यो निकै ठूलो ओडार छ । पहिले मान्छेहरु यहाँ पनि वास बस्ने गर्दथें । झिझरी ओडार पछि सानो खोल्सा पार गरी फेरी नाक ठोक्किने उकालो लागियो । उकालो बाटोमा खुई गर्दै जुका झुन्डियो की भनि हेर्दै दुई वजेको छेउछाउमा डाडा खर्कमा पुगियो । डाडा खर्कमा पुग्न साथ मुसलधारे पानी परयो । दुईवटा होटल मध्ये एउटा खुला रहेछ । धेरै जना साथीहरु खुला होटल तिर रहेर तातो पानी सातुहरु खानु भयो भने प्रेममणी भाई र म बन्द होटलको बाहिरा पटिको पानी छेक्ने ठाउमा झोला विसाएर मकै भटमास निकालेर खाईयो ।

निकै बेरको पानी परे पछि केही कम भयो । अब यस्तो तरीकाको बसाईले बाटो काटीदैन भनि फेरी उकालो बाटो लागियो । पर्यटन मन्त्रालयको सहयोगबाट डाडाखर्कबाट वेसक्याम सम्म साच्चै राम्रो ढुङ्गा छापेर बाटो निर्माण गरेको रहेछ । हामी हिड्दा पउने तीन बजेको थियो । हामी केही बेरको उकालो हिडाई पछि भन्ज्याङ्ग भन्ने ठाउमा पुगियो । भन्ज्याङ्ग पछि निकुञ्जको क्षेत्रमा प्रवेश गरीन्छ । भन्ज्याङ्ग पछि केही समय तेर्सो उकालो बाटो हिड्नु पर्छ । वेलुका अर्गानिक टुसाको तरकारी खानु पर्छ भनि टुसा तिप्न लाग्नु भयो । म पनि लागि टोपले । हिडाईको गति कम भएका वासु सर र नेपाल सरको जोडीलाई अगाडी विस्तारै पाइला वढाउनुहोस् भनि अगाडी लगाईयो । तेर्सो उकालो पछि फेरी यात्रा नाक ठोक्किने उकालोमा लागियो तर बाटो सजिलो भएकाले मजा नै थियो । पानी परेकाले खुलेको थिएन हामी थाहा नै नपाई पाँच वजे तिर खोङ्वामा पुगियो । खोङ्वामा तीनवटा होटलहरु छ । सुवेदी सर र कार्की जीको मिसेस्हरुले फूर्ति साथ खाना तयार गर्नु भयो । हामी गफ गर्दै आगो ताप्दै भिजेको मोचा सुकाउदै बसियो । खाना पाके पछि मिठो मानेर खाईयो र आरामसे सुतियो ।

श्रावण १२ गते आईतवार

यात्रा अझै अगाडी वढ्नु पर्ने भएकाले हामी चारै बजे देखि तयारी हुन थाल्यौ । खाना पकाएको र थालभाडा प्रयोग गरेको र आफ्नै म्याटिस र सिलिपिङ्गव्यागमा सुतेको जीउको सय र केही साथीहरु वेडमा सुत्नु भएको थियो वहाँहरुले वेडको दुईसय वढी तिर्नु भयो । हाम्रो सहयोगी शेर्पा भाईको आमा विरामी भएकाले धरान लान पर्ने भएकाले फर्किने भयो । दिनको खाएर एकहजार दिने सर्त अनुसार लगीएको थियो । वासु सर र नेपाल सरको म्याटिस र सिलिपिङ्गव्याग हाम्रो म्याटिस र थालबाटी फिर्ता गर्ने कुरा रहयो च्याक्से डाडामा छोड्ने सर्त अनुसार दुई सय थप रुपैया दिएर पठाइयो । हामी पाँच जनाले सिलिपिङ्गव्याग साथमा लगियो । सेदुवाबाट जाने ग्रुपलाई कुनै सहयोगको आवश्यकता नै थिएन । केही चामल खोङ्वामा छोड्ने कुरा भयो । मैले हामी केही तगडा साथीहरुले थोरै थोरै चामल बोकौ भनेर मैले एक पोका चामल मेरो झोलामा लगाए । साथीहरुले मजाले खान पाईहालिदा रहेछ भनि चामल बोक्नु भएन रहेछ । त्यसैले दुई ठाउ खाना चारसयको दरले खाईयो । मैले बोकेको चामलले दुधपोखरी जादा लोकल चामलको खाना दुई छाक मजाले खाईयो ।

विहान मजाले खुलेकाले हामी गफ गर्दै चिमल घारीको उकालो लागियो । केही समय मजाले हिडे पछि हामी मानी भएको डाडामा पुगियो । पारीपट्टि रहेको जोरखम्बे हिमाललाई हेर्दै फोटो खिचियो सेल्फि हानियो । केही समयको थकाई पछि थोरै तेर्सो हिडे पछि फेरी उकालो लागियो । उकालो संगै उचाई पनि बढ्दै थियो । उकालोमा सुनपातीको बोट र सानोखाले चिमलको विरुवा देखिन्थ्यो । केही समयको हिडाई पछि फेरी मानीडाडा आई पुग्यो । उचाई बढेकोले यस पछि सुनपाती र विविध जातको फूलहरुको मात्र संसार भेट्टाईन्छ । केही समयको थकाई पछि थोरै ओरालो र तेर्सो बाटो हुदै सानो पोखरी पुगियो । पोखरी छेउमा झोला राखि धुपवात्ती गरी पोखरीको फोटो खिचियो । हाम्रो बाटो ठूलोडाडा तिरको उकालो थियो । हामी सकिनसकि खुई गर्दै उकालो लम्कि रहियो । केही साथीहरुलाई निकै सास्ति परिरहेको थियो । दश वजेको समयमा हामी ठूलो डाडामा पुगियो । खाना पकाएर खाने सल्लाह भए बमोजिम त्यहाँ रहेको सानो होटलमा हाम्रो चामल र तरकारी वा सामन ग्यासमा पकाई दिने कुरा रहेपछि खानाको तयारीमा रहियो । मौसम खुलेकोले साथीहरु दायाँवायाँ जानुभएर थुप्रै फोटो खिच्ने र सेल्फि खिच्ने कार्य गर्नुभयो ।

मलाई शिक्षक भएकोमा बहुत गर्भ लाग्छ, म नयाँ ठाउमा जहाँ जान्छु म मेरा कुनै न कुनै विद्यार्थीसंग भेट हुन्छ र उनीहरुले आदर गर्दछन् । ठूलोडाडामा पनि मेरा चेलासंग भेट भयो । सेदुवाको कार्की गाउको छत्र कार्की भाई वेस क्याममा जस्ताटीन लिएर गएका रहेछन् । ठूलोडाडामा हिडाई र जाडोले होला लोकल रक्सी पिउदै रहेछन् । मेरा गुरुसंग भेट भयो अरुखुवाउ केही छैन यही खाउ सर भनेर भाईले अनुरोध गरे । मैले भयो भने । उसले आदर साथ थुप्रै पटक अनुरोध गरेकाले म र पदम सरले एकएक गीलास तताएर लियौ । त्यो ठाउमा भारी बोकेको अवस्थामा पनि आफ्नो सरलाई सेवा गर्न पाएकोमा उ सारै खुशी भयो । हामी पनि लेखको ठाउ जाडो भएको वेला चेलाको उपहार लिन पाउदा फेरी त्यो चिज पिए पछि झन् मजा हुने खुशी भईयो । भाईले फर्किदा जसरी पनि मेरो घरमा निस्कनु भन्ने अनुरोध पनि गरें । हामी शिक्षकलाई नयाँ ठाउमा आफ्नो विद्यार्थीले चिनेर बोलाए भने संसारको थुप्रै खुशी मध्ये त्यो खुशी सारै उत्तम लाग्छ । हामी खाना खाएर ११ः३० वजे हाम्रो यात्रा ठूलोपोखरी तिरको ओरालो तिर सुरु भयो । हामी केही समय पछि ठूलो पोखरीमा पुगियो । ठूलोपोखरीमा धुपवात्ती गरेर हामी अगाडी वढियो । ठूलोपोखरीको आफ्नै कथा छ।

अघि सत्ययुगमा सती देवीले अग्नीमा हामफालेर हिमालय पर्वतकी छोरी पार्वती भएर जन्म लिएकोमा पार्वती सानै उमेरबाट महादेव पती पाऊ भनि तपस्य गरेको भन्ने कथा हामीले स्वास्थानीको वर्तकथामा पढेका छौ । महादेवले पार्वतीको परिक्षा परिक्षण गर्न ईन्द्रको रुप धारण गरी हात्ती माथि चढि पार्वतीलाई भेट्टाउन जादा हात्ती ठूलोपोखरीमा पौडी खेलेको भन्ने उक्ती छ । त्यसैले ठूलोपोखरी विशालहात्तीको आकारमा देख्न सकिन्छ । ठूलोपोखरीको उत्तर पट्टि सानो पोखरी छ सो ठाउमा हात्तीको बच्चाले पौडी खेलेको भन्ने भनाईछ । तल पहिले वाटोमा रहेको सानोपोखरी मकालुगाउका राईहरुले पत्तालगाएका अरे र सानोपोखरीमा पानी सुक्न खोज्यो भने राईहरुलाई अनिकाल लाग्छ अरे र ठूलोपोखरी शेर्पाहरुले पत्तालगाएकाले र ठूलोपोखरी सुक्न खोज्यो भने शेर्पाहरुलाई अनिकाल लाग्छ भन्ने भनाई रहेको छ ।

ठूलोपाखरीबाट आधा घण्टाको उकालो राम्रै चढ्न पर्छ । सो उकालो पार गरेर मानी चौतारा छ । हामी थोरै समय वरुण नदी तिर झर्नु पर्ने ओरालोलाई हेर्दै थकाई मारियो । वरुण नदी तिरबाट हुस्सु उठेर आएकाले पानी पर्छ होला भनि हामी ओरालो झर्ने तिर लागियो । केही समयको हिडाइमा हामी दोवाटे पुगियो । पाथीभरा , हेदाङ्नागडी , बाक्ले, सिस्नेबाट आउने बाटो दोवाटेमा भेट हुन्छ त्यसैले दोवाटे भनिएको हो । दोवाटेमा राम्रो होटल र बस्नेपाटी पनि छ । होटल बन्द रहेछ । हामी फेरी ओरालो लागियो । ओरालोमा मम्बुक भन्ने ठाउ आउछ, थोरै समय थकाई मारेर खुट्टा कमाउदै फेरी ओरालो झरियो । बाटो राम्रो भएकाले यात्रा त्यत्रो कठीन भएन । दुई घण्टाको हिडाई पछि बरुणको तिरको जाते ओडारमा पुगियो । सातु , चिउरा , मकैभटमास , चक्लेट र पानी खाजाको रुपमा खाईयो । झण्डै आधा घण्टाको वसाई पछि हामी वरुण नदीको तिरैतिर तेर्सोवाटो ठूलो पहिरो तिर लागियो । पन्ध्र मिनेटको हिडाई पछि ठूलो पहिरो क्षेत्र आइपुग्यो । धुपवात्ती गरेर पहिरोको वाटो तिर लागियो ।

पहिरो भनेर डराइहाल्ने ठाउ होइन । वालुवा र रोडा ढुङ्गाहरु भएकाले पानी परेको बेला ढुङ्गा खस्छ कि भन्ने रहन्छ। त्यसैले केही फरकमा रहेर माथि तिर हेर्दै हिड्न पर्छ । पहिरोको बाटोमा चारपाचवटा खोल्सी छ । पानी परेको बेला केही ठूलो हुन्छ तर नपरेको वेला सानो हुन्छ । पहिरो एरीया एक घण्टा हिड्नु पर्छ तर केही खतरा एरीया तीस मिनेटमा पार गरीन्छ । ठूलो पहिरो पार गरेर फेवाताङमा पुगियो । होटलगोठ भएकाले हामी पछाडीका साथीहरु पर्खिएर तातो पानी पिउदै केही समय वसियो । फेवाताङवाट हाम्रो यात्रा अगाडी बढ्यो । ०६६ सालमा जादा वरुण नदी नतरी वरुणको किनारै किनारवाट याङ्ले जाने वाटो थियो । २०७३ साल चैत्रको हिमताल फूट्दाको वाढीले पुरै वरुण नदीको रुप वदली दिएको रहेछ । वाटो पुरै पहिरोले लगेछ । फेवाताङको छेउवाट वरुण तरी पारी पटीवाट याङ्ले जाने वाटो रहेछ । साडे एक घण्टा हिडेर याङ्ले पुगियो । याङ्लेमा राम्रो होटल छ । हाम्रै समूहका सेदुवाली साथीहरुले बोक्नु भएको चामलको भातसंग निगुरो र दुमदुमे साग र गेडागुडी मिसाएको तरकारी के भनौ झोल लगाएको तिउन खाईयो । आफ्नो सिलिपिङव्याक हुने साथीहरु आफ्नै कपडामा सुतियो नहुने साथीहरु होटल वेटमा सुत्नु भयो ।

श्रावण १३ गते सोमवार

आज सोमवार शिवधारा र पार्वती माताको दर्शन गर्ने दिन हामी चारै वजे उठेर विहानको नियमित गर्नु पर्ने कार्यहरु गरीयो । दुधपोखरी जाने साथीहरुले झोला मिलाईयो भने नजाने साथीहरुले पुजाको सामन र वरुणमा नुहाएर फेर्ने लुगा मात्र बोक्नु भयो । बसेको बासको कुरा गर्दा होटलवाला दोर्ची शेर्पा भाईले पर्दैन भन्दै हुनुहुन्थ्यो तर हामीले त्यो टाउमा बसेर त्यसै हिड्न हुदैन भनेर वेडमा सुत्ने साथीहरुबाट दुई सय र अन्यबाट पचासको दरले उठाएर दियौ । हामी पाँच वजेको समयमा शिवधाराको फेद नेहाँ खर्क तिर लागियो । मौसमले त साथ दिएकै थियो । केही समय पछि उज्यालो पनि फाट्यो । हामी फोटो खिच्दै सेल्फि हान्दै नेहाँ खर्क तिर अगाडी वढी रहियो । झण्डै एक घण्टा पन्ध्र मिनेटमा नेहाँ खर्कको गोठमा पुगियो । वरुण नुहाएर दर्शन गर्न जाने भन्ने रहेकाले झोला राखेर फेर्ने कपडा लिएर वरुण नदी तिर लागियो । वरुण नदी ढुङ्ग्रीएकोले जहासुकै नुहाउने ठाउ सजिलो छैन । थोरै घुमेको ठाउमा हातले पानी लिएर हल्का नुहाइयो र अन्य साथीहरुलाई पनि होसियार साथ यतातिर नुहाउनुहोस् भनेर ठाउ देखाएर म माथि गोठ रहेको ठाउमा खोलाबाट उक्लिए ।

दर्शन गर्न भिरको कठिन नै भन्नु पर्छ होला कठीन बाटोवाट जान पर्ने भएकाले सानो झोला वा प्लाष्टि झोलामा धुपवात्ती, पानी पर्छ कि भनेर ओड्ने प्लाष्टि लिएर सबै जना तयारी भए । हामी आउदै छौ भनि वल माङ्ने र शिवजीका गणहरुले हामीलाई कुनै विग्नवाध नगरुन भनि तल नै धुपवात्ती गर्ने ठाउ छ सो ठाउमा गोठको भाइले दुध चढाएर कोइलामा सुनपाती सुक्पा धुप पोलेर वल मागी दिनु भयो । हामीले पनि धुपवात्ती, ध्वाजा र भेटी चढाईयो । त्यस पछि हामी चढ्ने ठाउ तिर लागियो । उकालो त्यस माथि भिरको वाटो अफ्ठ्यारो विस्तारै हामी लम्किन लाग्यौ । केही समय पछि साङ्लोको सहायतावाट जाने ठाउमा पुगियो । हामीले लगाएको जुत्ता र चप्पल त्यही ठाउमा छोडिन्छ हामीले पनि त्यही छोडियो । कठीन र डराउने ठाउमा हामी नडराउने चार पाँच जना साथीहरु वसियो र सबै जनालाई तान्दै ठेल्दै लगीयो । हामी केही हिड्न सक्ने साथीहरु अगाडी भइएछ । नेपालमान सरलाई थोरै कठीन भो भन्ने सुने केही समय उभिएर खै गर्दा ठीकै छ आउदै हुनुहुन्छ भन्ने सुने र यसो हेर्दा आउदै गरेको देखे पछि म पनि विस्तारै लागे । त्यहाँको यात्रामा सजिलो त कसैलाई पनि हुदैन मात्र थोरै घटीवडी मात्र न हो । हामी दुई देखि साढे दुई घण्टाको समयमा शिवधारा पुगियो ।

मैले शिवधारा टेक्दा नौ पन्ध्र भएको थियो । जय भोलो वावा भन्दै जो जो पुग्छ झरी रहेको सुन्दर धारमा थापिदै पुजा गर्ने ठाउ तिर लागियो । पुजा जस्ले जे जानेको छ सोही तरीकाले गर्ने हो । त्यहाँ कुनै पुजारी कजारी छैन । मैले पनि आफ्नै तरीकाले लौ परमेश्वर हाकेको ताकेको पुराहोस् भन्दै पुजा गरे । लगेको त्रिशुल गाडे , शिवजीको परिवार भएको लेमुनेशन भएको तस्विर थियो त्यसलाई राखे पुजा गरे । मेरो मान्यता के छ भने मैले पुजा गर्दाको धुपवात्ती र अन्य चिजको फोहर मैला म कहिल्यै पनि सो ठाउमा छोड्दिन । मैले फोहर हुने सवै चिज झोलामा राखेर तल गोठमा ल्याएर पोलि दिए । पुजा गरी सके पछि फेरी धारामा थापिएर पार्वती गुफा तिर लागियो ।

शिवधारा

शिवधाराको उत्पतिको कथा सम्बन्धमा वैद्धिकशास्त्र र पौराणिकशास्त्रको आधारमा विभिन्न मान्यताहरु रहेका छन् । जस्मा भगीरथको तपस्यबाट ऋषि श्रापमा परेका साट्ठीहजार पित्रीहरुलाई पार गराउन आकाशबाट गंगालाई पृथ्वीमा ल्याउनु पर्ने भएकोमा गंगा खुशी भई पृथ्वीमा आउन खुशी भइन् । तर माथिबाट तल तिर झर्दा पृथ्वीलाई छेडी पातल लोकमा पुग्ने भएकोले शीवजीले मात्र गंगाको सो शक्तिलाई थाम्न सक्ने भएकोले भगीरथले शिवजीको तपस्य गरी खुशी पारी सो काम गर्न शिवजीलाई राजि पार्यो । तर गंगाले आफ्नो घमण्डले शिवलाई नै पातलमा पुर्याउछु भनि झर्दा सो कुरा शिवजीले थाहा पाई आफ्नो केशमा गंगालाई हजार वर्ष अलमल्याएछन् । त्यसरी अल्मल्याउने क्रममा शिवजीको जट्टाबाट चार धारा चुहन गए छन् । जस्मा शिवधारा , आकाश गंगा , गोमुख गंगा र भगिरथ गंगा बनिएको भनाई रहेको छ । शिवधारा देखि बाहेक तीन गंगाहरु भारतको उत्तरखण्डमा पर्दछ । यसरी शिवधाराको उत्पती भयो भन्ने रहेको छ ।

त्यस्तै अर्को कथन स्वास्थानी माताको व्रतकथा अनुसार जब पार्वतीको परिक्षणको लागि शिवजी ईन्द्रको रुप धारण गरि ठूलो पोखरी हुदै जादामा ठूलो पोखरीमा हात्ती आहल खेलेको र शिवजीले बस्नको लागी ओडार बनाएको र पानीको आवश्यकता पर्दा त्रिशुलले हानी पानीको धारा निकालेको भन्ने भनाई छ । शिवधार पचास साठी मिटरको उचाईबाट खस्दछ । हेर्न लायक र दर्शन गर्न मनपर्नेछ ।

शिवधाराबाट पार्वती गुफा तिर लाग्दा एउटा निकै जटिल भिर काटेर जानु पर्छ । तर अहिले केही सजिलो बनाएका रहछन् । सो जटील भिर काट्न साथ वायाँ तिर गणेश थान छ । धुपवात्ती गरी भेटी चढाई गणेशको सुडलाई दुई हातले अंगालो मार्ने गरीन्छ सो पनि गरीयो । त्यस पछि थोरै हिडे पछि पार्वती गुफा र विशाल ओडार आई पुग्छ । स्वास्थानीको व्रतकथा अनुसार पार्वतीलाई विष्णु भगवान माग्न आउदा साथीहरुले पार्वतीलाई लुकाएको चार पाच जना अट्न सक्ने गुफा छ । गुफा भित्र पुजा गरीन्छ । थोरै पर केही कठीन भिरमा पार्वती माताले स्वास्थानीको व्रत लिदा नुहाएको धारा छ । पार्वती धारामा पार्वती रेखा छ धारा थापीन जादा रेखा काट्न हुदैन भन्ने मान्यता छ धारा आफै घुमेर आउछ र पानीले भेट्टाउछ । पार्वती ओडारमा दुई तीन ओटा खोपी देख्न सकिन्छ ।

गुफा नै माथिको खोपीमा ढकी पैसा फाल्ने चलन छ । खोपीमा पैसा अडाउन सकेमा सोचेको कुरा पुरा हुन्छ भन्ने मान्यता छ । मैले पनि एक रुपैयाको ढकी फाले अड्कियो या भनेर कराए । झण्डै एघार वजि सकेको समय भएछ । दर्शन गरी सके पछि आफ्नो साथमा लगेको सातु , चिउरा ,मकैभटमास वा अन्य जे चिज छ खानु भनिन्छ । तर हाम्रो टिममा खान हुदैन होला भनि साथीहरुले केही बोक्नु भएनछ । मैले ठूलो ग्लुकोज विष्कुटको प्याकेट बोकेको थिए त्यो बाडेर खाइयो । सुवेदी सरको मिसेसले गतिलो काक्रो , आप र चक्लेट बोक्नु भएको रहेछ त्यसलाई पनि बाडेर प्रसादको रुपमा खाईयो । धैरै जनाको मुख उज्यालो भएर तल झर्ने साहस वढ्यो ।

त्यस पछि हामी फर्किन सुरु गरियो । फर्किदा शिवधारा आइरहन पर्दैन । त्यहीबाट सिधा ओरालो झर्ने बाटो छ । पार्वती धारा झरेको पानी वगेको छेउछेउ झर्ने बाटो रहेको छ । हामी विस्तारै झारपात , विभिन्न जातकोफूल , विषझार र ओखती विरुवाको अवलोकन गर्दै पहिलेको साङ्ले बाटोमा आई पुगियो । तानतुन पारी सबै जनालाई पार लगाए पछि हिड्न सक्ने अगाडि नसक्ने पछाडि विस्तारै आउनु भयो । निहाको गोठमा एक वजेको समयमा आईपुगेर मिठो तातो चिया सुवेदी सरको दम्पतीबाट स्पन्सरमा खुवानु भयो । भएको मकै भटमास , चिउरा , दालमट , चकलेट , विष्कुट आदी सबैले लेनदेन गरी त्यो विहानको खानाको सट्टा पेटभरी खाईयो ।

खाजा खाए पछि हाम्रो टोली तीन तिर वितरण हुने भयो । सुवेदी सुरको जोडी र सुवेदी सरको कार्की भेनाजु आमा भुजुङको दर्शन गर्न जानु हुने भयो । हामी पनि जाने कुरा थियो तर वेलुका लाङ्मालेको वासमा पुग्न कठीन हुने भएकाले हामीले योजना परिवर्तन गरीयो । आमा भुजुङ भनेको हिमाल राजा हिमाल रानीको ठाउ । आमा भुजुङको अर्थ पेट बोकेको, साच्चै वरबाट हेर्दा त्यस्तै देखिन्छ । मेनुकाले पार्वती पेटमा हुदा गर्भ बोकेको भन्ने कथन छ । विषेसता यहाँ छोरा नहुनेहरु छोरा माङ्न जान्छन् । सुवेदी सरको जेठी पोइला गएका रहेछन् । जेठी पटि एक छोरी र कान्छीबाट पनि छोरीहरु जन्मिएकाले सायद वहाँहरु छोरा माग्नको लागी जानु भएको होला । हामीले शुभकामना दियौ । डेड घण्टाको जंगल पातलको वाटो जान पर्ने भएकाले भेनाजु कार्कीलाई साथी लानु भएको होला ।

शिव र पार्वतीको विवाह हुदा देवताहरु, शिवका गणहरु नन्दी भृङ्गी प्रमथ गण भूत प्रेत पिशाच साथमा जन्ति भएर गएका थिए । आमा भुजुङ्गको नजिक भूतदहमा भूत प्रेत पिशाच बसेको पौडी खेलेको भन्ने भनाई रहेको छ ।अहिले त्यस दहको छेउछाउ नजानु मरिन्छ भनिन्छ । त्यस दहको छेउछाउ भेडाबाख्रा , चौरी गाईहरु पनि जादैन । आमभुजुङ्गको पारी तिबुक झरना रहेको छ । जुन झरना पहाडको ठूलो प्वालबाट निस्किएको छ । जस्को उत्पती दुईवटा भनाईहरु रहेका छन् । शिवजीको विवाहमा गएका देवताहरुका वाहनहरु तिर्खाएर पानी खाना खोज्दा शिवजीले शंखले हानी निकालेको पानीको झर्ना भन्ने भनाई रहेको छ भने त्यस्तै सो झर्नाको ठीक पल्लोपटी तिब्बत क्षेत्रमा अघी काली नाग भएको ताल थियो रे । नागले धेरै मानिस खाएकोले गर्दा त्यस ठाउका मानिसले महागुरु (शेर्पा लामाहरु शिवजीलाई महागुरु भन्दछन्) को आराधाना गरी खुशी पारी शिवले त्रिशुलले हान्दा पार हुन नसकेको र फेरी शंख प्रहार गर्दा कालीनाग मारीत्यसको रगत सो प्वालबाट निस्किएको भन्ने भनाई रहेको छ । तिबुक झर्ना साच्चै हेर्न लायकको छ ।

नेहाबाट हामी पाँचजना ईश्वर सर, भानु सर, पदम सर, प्रेममणी भाई र म दुधपोखरीको दर्शनको लागि जाने भनेर संगै वरुण तरेर माथि तिर लागियो । बाँकी सबै जना भोली बेलुका फेवाताङमा भेट हुने भनि याङ्ले तिर झर्नु भयो । ०७३ सालको हिमताल फुटेको वाडीले वरुणको किनारको वाटो भत्काएको रहेछ । एउटा खोल्सीको किनारबाट निकै उकालो चढेर गोब्रे सल्ला र चिमलको पातलबाट तेर्सो बाटो पार गर्दै तिवुक झर्ना छेउ टोडासो खर्कमा पुगियो । टोडासोमा नयाँ होटल निर्माण हुदै रहेछ । त्यसको केही परी ०७३ साल चैत्रमा फुटेको हिमतालले भत्काएको ठाउहरु हेर्दै पहिलेको भन्दा निकै अफ्ठ्यारो बाटो पनि बनाएको रहेछ, भेडीगोठालो भाईहरुसंगगफ गर्दै हामी लाङ्माले तिर तन्कि रहियो । तीन घण्टा भन्दा वढीको यात्रा पछि वेलुकाको पाँच वजे लाङ्माले पुगियो । मैले बोकेको चामल र गुन्द्रुक निकालेर त्यही फलाएको आलुसंग मिसाएर खाना तयार गरी पदम सरले बोक्नु भएको खारेको घिउ र ढुटो अचारसंग आगोको छेउमा बसेर विहान पनि खाना नभएको टन्न पेटभरी खाईयो र मजाले आफ्नो सिलिपीङव्याग ओडेर होटल वेडमा सुतियो ।

श्रावण १४ गते मंगलवार

लाङ्मालेबाट हाम्रो यात्रा मकालु वेसक्याम ( दुधपोखरी ) को थियो । हामी चाडै उठेर तयार भईयो । खाना खान लाङ्मालेमा नै आउने भनेर हामीले झोला त्यही छोडि थोरै नास्ताका सामन र ओड्ने छाता वा प्लाष्टिक र टेक्ने लौरो लिएर पाँच बजेर विस मिनेट जादा हामी प्रस्थान गरीयो । हामीसंगै प्रताप कार्की भाईहरुको सात जनाको टिम पनि लाग्नु भयो । भारी बोक्न नपरेको रित्तो ज्यान फोटो खिच्दै अगाडी बढीयो । जमिनको भाग राम्रो खुल्यो तर आकास भने त्यति राम्रो गरी खुलेन त्यसैले हिमालको टाकुराहरु त्यति राम्रो गरी देखिएन । वरुणको तिरैतिर मेरकमा पुग्दा चौरी गाईलाई सिकार गर्नको लागी दाउ हेरी रहेको दल्सिङ ढुङ्गाको कलरमा देखिने व्वासोलाई देखेर सूई गरी कराउदा माथि तिर हामीलाई हेर्दै भाग्यो । जेहोस् चौरी गोठालो राम्रै गरी केही समयको लागी भए पनि भईयो । सेरसुङखर्कको फाट पार गर्दै केही उचाईमा पुगियो । ठूला साना विभिन्न रङ्गका हिमतालहरु देखियो । तीनीहरुको आफ्नै कथा रहेछ ।

वरुण नदीका सात वैनी छोरीहरु मात्र भएछन् । श्रीमतीसंग सल्लाह गरी हिमालय पर्वतसंग छोरा माग्नका लागी वरुण नदी गएछन् । वरुणले छोरा वरमपुत्र(व्रम्हापुत्र) पाएछन् । छोरा पाएर पनि वरुण फर्किएन रहेछन् , माथि तिर कै रमाईलो वातावरणमा रमाउन थाले छन् । शिवधारा आसपास , सेरसुङ्ग खर्क र वेसक्याम्प आसपास साञ्चै राम्रो वातावरण छ । वरुण धेरै वर्ष सम्म नआए पछि आमाले वावुलाई फर्काउन आफ्ना सात वैनी छोरीलाई पठाएछन् । वरुणका सात वैनी छोरीहरु पनि हिमालय पर्वतको आसपासको वातावरणले रमाएर बसेछन् । धेरै वर्ष सम्म नफर्किदा आमाले लाउरे सिकारीहरुलाई लिन पठाए छन् । लाउरेहरु गएर वरुणका सात वैनी छोरीहरुलाई लुगा,गरगहना दिउला भनि फकाए छन् । छ वैनीहरु फर्किन मानेछन् । तर कसै गर्दा पनि कान्छी छोरी सन्सारी माई फर्किन मानेनछन् । अन्तिममा लाहुरेहरुले तिमीलाई कान्छी पैसा ( एक पैसा , धन ) दिउला भनि फकाए छन् । कान्छी छोरी सन्सारी माई आउन मानेछन् । त्यसैले पुजा गर्दा अन्य माईहरुलाई ध्वजापात चढाउछन् तर सन्सारी माईलाई एक पैसा र अहिले रु.एक चढाउने गरेका छन् ।

हामी नौ वजेको समयमा मकालु वेसक्याम दुधपोखरी पुगियो । नजिकै मकालु हिमालको फेद छ । हिमपहिरो खसेको आवज मजाले सुनिन्छ । केही अग्लो ठाउमा गएर दुधपोखरी दृष्य अवलोकन गरीयो । जमिनमा मसिनो फूलफूल्ने विरुवा वाहेक केही छैन । सेरसुङखर्क सम्म मसिनो सुनपाती र सुक्पा भैरुङ्पाती पाईन्छ । पोखरीको छेउमा गएर धुपवात्ती गरीयो । साथीहरुले लुगाखोलेर जम्ल्यहात गर्दै हुनुहुन्थ्यो । सायद पित्रीहरुलाई संम्जिनु भएको होला । पेप्सीको वोतलमा दुधपोखरीको पानी र प्लाष्टिकमा पोखरीको विगुद निकालेर वेस क्यामको होटल तिर लागियो । वेसक्याममा चारवटा होटल रहेछ चारैवटा वन्द रहेछन् । हामी केही वरा आएर आफूले लगेको विष्कुट , चिउरा आदी खाजा खाएर फर्कियौं । फर्किदा थोरै सुनपाती र सुक्पा टिप्दै छिटोछिटो गरी लाङ्मालेमा आइयो । लाङ्मालेमा आइपुग्दा दिउसोको एक वजेको थियो ।

चामल आफ्नै थियो खाना होटल वालाले बनाई दिनु भयो मजाले खाईयो । खाना बनाई दिएको , राति सुतेको र एक कुरुवा दहीको एकसय गरी पाँच जनाको सोह्र सय तिरेर धन्यवाद दिदै दुई तीसको समयमा आफ्नो सामन बोकेर याङ्ले तिर वाटो लागीयो । याङ्लेमा थोरै समय वसी चीया खाएर फेवाताङतिर झरियो । वेलुकाको छ वजे हामी फेवाताङमा वासु सर र नेपालमान सरहरुलाई भेट्टाउन आई पुगियो । गफगाफको क्रममा होटल वाला आङ्दावा शेर्पा दाई ०६६ सालमा हामीहरु म , मेरा श्रीमती मनकुमारी र ज्ञानविक्रम भाईसंग ठूलोपोखरीवाट जयप्रकाश राईसंग एकजना शेर्पा दाई जानु भएको थियो जस्ले ठूलो पहिरो तिर सहयोग गर्नु भएको थियो उही दाई हुनुहुदो रहेछ । मजाले विगतका कुरा गरीयो । हिमाल चढ्दाको अनुभव सुनाउनु भयो । मजाले सुनियो । भोलिको हिडाईको कुरा गर्दै खाना खाएर होटल वेडमा नै सुतियो ।

श्रावण १५ गते वुधवार

आज म विहानको दुई वजे उठेछु । विश्वब्रम्हाण्डको उत्पतिको कुरा मनमा सोचे । भौतिकवाद र अध्यत्मिकवादको बारेमा सोचे । शिवधार , पजर्वती गुफाको उत्पती वा वनोटको बारेमा र पहिलो मानव को पुग्यो होला भन्ने सोचे । सोच्दै मनमा कुरा खेलाउदा खेलाउदै मेरा विद्यालको बारेमा सम्झिएछु । निर्माण हुदै थियो के भयो होला , प्लाष्टरमा पानी क्यूरिङ्ग गरयो कि गरेन भन्ने कुराले मलाई निकै बेर विझाएछ । यस्तो सोच्दै विहानको चार वजेछ । ठूलो पहिरो र दोवाटेको लामो उकालो काट्न पर्ने भएकाले हामी चाडै उठीयो । हामीले बोकेको सानो ग्यास चुलोमा हामीसंग रहेकोे चाउचाउ उमालेर चिउरा राखेर खाएर बसेको खाएको हिसाव मिलाएर मौसम खुलेको थियो त्यहावाट पनि शिवधार र पार्वती गुफा देखिदा रहेछ नमस्कार गरेर छ वजे तिर वाटो लागीयो ।

विहान खुलेकाले कुनै कठीन नै विना हामी ठूलो पहिरो, जातेओडार, मम्वुक हुदै दोवाटेमा आई पुगियो । होटल बन्द भए पनि वस्न र पानीको सुविधा भएकाले पानी तताएर विहानको खाजानास्ता गरीयो । ठूलोपोखरी हुदै ठूलो डाडामा आएर केही समय थकाई मारीयो । त्यस पछि सानो पोखरी तिर ओरालो झरीयो अबको हाम्रो यात्रा ओरालो मात्र थियो । कुहिरो उठेकोले मौसम खुलेन । हाम्रो खोङ्वामा वस्ने योजना थियो तर दिउसोको एक मात्र वजेकाले वास वस्न टसीगाउ झर्ने सल्लाह भएर हामी अगाडी वढीयो । अर्गानिक तरकारी खाने भनेर वासु सर र पदम सर टुसा टिप्न लाग्नु भयो । देउरालीमा भेला भएर टुसा केलाएर डाडाखर्क तिर ओरालो झरियो । थोरै सिमसिम पानी परेकोले जुका चिमट्दै झिझरी ओडार हुदै जादा खाना पकाएर खाएको होटलमा वेलुकाको छ वजे आईपुगियो । खाना बनाउन लगाइयो । दाल , टुसाको तरकारी , जीम्बुको तरकारीसंग मजाले खाएर सुतियो ।

श्रावण १६ गते विहीवार

हामी सवेरै उठेर खाएको बसेको हिसाबमा खाएको मात्र दुईसय पचासको दरले दिनु भन्नु भयो त्यही अनुरुप तिरेर वाटो लाग्यौ । च्याक्सेडाडामा पुगेर चिया विष्कुट तातो पानी खाईयो । हामीले खोङ्वाबाट फर्काएको सामन त्यहाँ थियो । सुवेदी सरले बोक्ने एक जना भाईको व्यवस्था गरी दिनु भएको रहेछ । हिड्न कठीन हुने साथीहरुको सामन भाईले बोकी दियो । हामी त्यहाँबाट कार्की गाऊ हुदै सेदुवा तिर अगाडी वढियो । सेदुवामा नौ वजे थाहा नै नपाई आईपुगिएछ । टसीगाउकै होटलवालाको छोराको वरुण होटलमा खाना खाएर सेदुवाको वेदवारी तिर झरीयो । सविता वैनीको होटलमा थोरै समय वसेर चिसो पिएर फेरी ओरालो झरियो । अरुण तरेर चिसो पानी पीएर वोतलमा पानी बोकेर हामी नुमको उकालो लागियो । फोनमा सेदुवाबाट नै गाडीको व्यावस्थ गरेकाले हामी आइपुग्न भन्दा अगाडी नै चाम्लाखर्कमा हाम्रो गाडी आई पुगेकाले झोला मिलाई दुई वजेको समयमा हामी गाडी चढेर पाँच वजेको समयमा खाँदवारी आईपुगीयो ।
जय भोले वावा !

हिमालको छेउको तिर्थ गर्ने हो भने कसरी जाने ?
१. जानु भन्दा अगाडी त्यस ठाउको बारेमा राम्ररी बुझ्नुहोस् ।
२. वास बस्ने ओडार , गोठ र होटलको बारेमा बुझ्नुहोस् ।
३. आफ्नो विरामको औषधि साथै सिटामोल , एम्जिट , व्रुफेन , निम्स , यूरीक एसीडको औषधि , पेट दुख्दा खाने केही कडा औषधि बोक्नु पर्छ ।
४. खाने कुरामा चामल, मकै भटमास,चिउरा , विष्कुट ,चक्लेट आदी के कति बोक्ने सो विचार गर्नुहोस्।
५. म्याटीस , सिलिपीङव्याग अन्य लताकपडा के कति बोक्ने नबोक्ने सोको बारेमा पहिले नै बुझ्ने ।
६. तपाईको साथमा आश्रीत परीवारका सदस्यहरु वा अन्य साथीहरु भएमा तपाईले आफूलाई थोरै असज भएमा कम्जोर भएको तुरुन्त नदेखाउनुहोस् ।
७. वेलुकाको समय हुदै छ भने हिड्न नसक्ने र विरामी साथी भएमा पछाडी नछोड्नुहोस् । उसको पछाडी अनुभवी साथी बस्नुहोस् ।
८. आजको हिडाई कहाँ सम्म पुग्ने वास कहाँ बस्ने सो को टुङ्ेगो गर्ने र मौसमलाई विचार गर्नुहोस् ।

लेखक खाँदबारीको हिमालय माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।

शिवधारा जाने रुटको बारेमा बीरबहादुर राईले तयार गर्नुभएको भिडियो सामग्री पनि यहाँ राखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...
error: Content is protected !!